भरतपुर– चितवनमा पुनःनिर्माणको काम हालसम्म ६८ प्रतिशत पुरा भएको छ। कूल लाभग्राही सात हजार ४६० घरधुरीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताको रकम बुझेको प्राधिकरण जिल्ला कार्यन्वयन एकाइले जानकारी दिएको छ। कार्यालयका अनुसार अझै ६७३ को सम्झौता हुनसकेको छैन।
यस वर्ष जिल्लामा ७४५ घरको पुनःनिर्माण जारीरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सुजन नेपालले जानकारी दिए। उनका अनुसार पहिलो किस्ता छ हजार ७८४, दोस्रो किस्ता पाँच हजार ५४० र तेस्रो किस्तावापत चार हजार ५९५ घरधुरीले रकम बुझिसकेका छन्।
भरतपुर महानगरपालिका ४२९, रत्ननगर नगरपालिकामा ४५५, खैरहनी नगरपालिकामा ३८३, राप्ती नगरपालिकामा एक हजार ५०, कालिका नगरपालिकामा ४९४, माडी नगरपालिकामा २२ र इच्छाकामना गाउँपालिकामा एक हजार ७६२ घर निर्माण सम्पन्न भएका छन्। भूकम्पले सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा प्रभावित पारेको थियो।
त्यहाँ दुई हजार ४६४ घर भत्किएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। लाभग्राहीलाई तेस्रो किस्तावपत रकम लिइसक्नुपर्ने समयसीमा विसं २०७७ असार मसान्तसम्म तोकिएको छ। तर, बस्ती स्तान्तरण, सडक, दक्ष डकर्मीको अभाव र ऐलानी जग्गाका कारण पुनःनिर्माणको काममा केही अवरोध भएको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिएका छन्।
उनका अनुसार, जिल्लामा १०१ बस्ती असुरक्षित रहेका छन्। त्यसमध्ये ६२ घरधुरीलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गराइएको छ। पहिचान भएका एक हजार १९८ भूमिहीन लाभग्राहीमध्ये ऐलानी जग्गामा बसोबास गर्ने एक हजार ११० लाई सोही स्थानमा घर बनाउने अनुमति दिइएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताएका छन्।
जग्गा व्यस्थापन गर्न बाँकी आठ लाभग्राहीलाई अन्यन्त्र घडेरी किन्न प्रक्रिया अगाडि बढाइएको उनले जानकारी भयो। पुनःनिर्माण कार्यालयले सांस्कृतिक सम्पदामा क्षति पु¥याएका ३० सम्पदाको पुनःर्निर्माण गरेको छ। ५३ क्षतिमध्ये ३० सम्पदाको काम सम्पन्न गरेको हो । अहिले एक सम्पदाको पुनःनिर्माण भइरहेको छ।
२२ वटा निर्माण गर्न बाँकी रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिए। ५५ गुम्बाको पुनःनिर्माण गर्ने भनिए पनि अहिलेसम्म सम्झौता हुनसकेको छैन। भूकम्पले भत्किएका खुरखुरे–समिटारे–ठकुरीभञ्ज्याङ सडक र बकुलर–जुटपानी–सिद्धी सडकको ३३ किलोमिटर पुनःनिर्माण भइरहेको छ। त्यसअन्तर्गत खुरखुरेबाट ठकुरी भञ्ज्याङ सडकको ९८ प्रतिशत र बकुलरबाट सिद्धिसम्मको ६३ काम भएको जनाइएको छ।
क्षति भएका १० स्वास्थयचौकीमध्ये एउटा मात्र पुनःनिर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)का इञ्जिनीयर सुभाष न्यौपानेले जानकारी दिए। उनका अनुसार छ भवनको पुनःनिर्माण जारी छ भने पुनःनिर्माण हुन तीन वटा बाँकी छ। पुनःनिर्माण भइरहेकामध्ये स्वास्थ्यचौकी भवन निर्माणका काम ५० प्रतिशत पुगेको छ।
चार वर्षको अवधिमा ५२ विद्यालयको पुनःनिर्माण भएको छ। ३२० विद्यालय पुनःनिर्माण गर्नुपर्ने छ। त्यसमध्ये एक हजार २८० कक्षाकोठा निर्माण गर्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वन एकाइ (शिक्षा)का इञ्जिनीयर सरोज श्रेष्ठले जानकारी दिए। अहिलेसम्म १६१ कक्षाकोठा मात्र सम्पन्न भएको उनले बताएका छन्। (रासस)