काठमाडौं– विभिन्न तरकारीहरू मध्ये फर्सी पनि एक उपयोगी तरकारी हो। फर्सी स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाजनक मानिन्छ। फर्सीमा भिटामिनको मात्रा बढी पाइन्छ भने अन्य तत्व पनि उत्तिकै पाइन्छ। फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ। यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ। यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ।
यसमा पाइने पौष्टिक तत्व र फाइदाहरूः
फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्ने काममा मद्दत पुग्छ, फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ। जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्दत गर्छ।
पहेँलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ। यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ, फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ। यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ।
यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्दत गर्छ, यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्दत गर्छ, फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्दत गर्छ।
फर्सीको मुन्टा खानुका अपत्यारिला फाईदाः
तपाई साग कतिको खानु हुन्छ र तपाईलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ। तर, तपाईले प्रयोग गर्ने सागहरुको प्रजातिमध्ये एक हो फर्सीको मुन्टा। उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो। तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ। फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ। त्यसैले आज हामी तपाईँलाई फर्सीको मुन्टाको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ।
फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ। फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेसियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो। हामीलाई स्वस्थ रहन का लागि शरीरमा यि सबै तत्वको आवश्यकता पर्दछ। फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाई उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित रहन सक्नु हुनेछ।