काठमाडौं– जाडो मौसम सगैं तापक्रम पनि दिनदिनै ओह्रालो लाग्दैछ। देशभर नै चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा एकदमै चिसो बढेको छ। जति जति वायमुण्डल चिसिदै जान्छ, त्यतीनै मानिसलाई घाम प्यारो लाग्न थाल्छ।
तर, चिसो बढेसँगै धेरैजसो भेगमा चाडै घाम ओझेल पर्छ। कतिपयले घाम ताप्न पाउँदैनन् भने कतिलाई घाम ताप्ने फुर्सद हुँदैन। कतिपय मानिस घामको सम्पर्कमा आउन नै चाहँदैनन्। किनकी छालाको सौन्दर्यलाई असर गर्छ भन्ने भयले घाममा बस्न रुचाउँदैनन्। त्यसो त पछिल्लो समय घामको किरण क्यान्सरको कारण बन्न सक्ने भयले पनि धेरैलाई सताएको छ। यावत् कारणले हाम्रो जनजीवनबाट घाम टाढा हुँदै गएको छ।
चिकित्सकहरु भन्छन, ‘खाना, पानी, वायु जस्तै शरीरका लागि आवश्यक चिज हो घाम पनि, घामबाट शरीरले भिटामिन डि प्राप्त गर्छ।’ अतः भिटामिन डि प्राप्त गर्नका लागि बिहान वा साँझको घाम उपयुक्त हुने पनि उनीहरुले सुझाव दिदै आएका छन्। भिटामिन डिको प्रभावकारी र प्राकृतिक स्रोत हो घाम, जस्तैः जाडो याम सुरु हुन्छ, घामको अभावमा धेरैलाई भिटामिन डिको अभाव हुन्छ।
चिकित्सकहरुलको भनाई के छ भने, पछिल्लो समय नेपालीलाई भिटामिन डिको कमी भइरहेको छ ।भिटामिन डिको कमीले के हुन्छ भन्ने जवाफले तपाईंलाई थर्कमान बनाउन सक्छ। किनभने शरीरमा भिटामिन डिको अभाव हुँदा एकमात्र होइन, अनेकथरी समस्या निम्त्याउँछ। त्यही समस्याले हामीलाई थला पारिदिन्छ।
भिटामिन डिको कमी शरीरका लागि खतरनाक हुन्छ। किनभने यो त्यही भिटामिन हो, जसले हाम्रो शरीरमा क्याल्शियम अवशोषित गर्न मद्दत गर्छ। यस्तो अवस्थामा जब भिटामिन डिको अभाव हुन्छ, शरीरमा केही प्रकारका रोगले जरा गाड्न थाल्छ। जाडो मौसममा घाम ताप्ने अनुकुलता कम हुन्छ। घाम ताप्न पाइदैन। यसले शरीरमा भिटामिन डिको कमी हुन्छ। भिटामिन डिको कमी भएमा उच्च रक्तचाप र मुटुको रोग थप जटिल हुनसक्छ।
स्वासप्रश्वासको खतराः
जाडोमा त्यसैपनि स्वासप्रश्वासको रोगलाई निकै सास्ती हुन्छ। त्यसमाथि भिटामिन डि को कमीले थप समस्या निम्त्याउँछ। भिटामिन डि को कमी र फोक्सोको कार्यक्षमताबीच सोझो सम्बन्ध हुन्छ।
अन्य रोगः
जाडो मौसममा भिटामिन डिको कमीले हृदय रोगको संभावना बढाउँछ। भिटामिन डिको कमी भएकाहरुलाई मुटुको रोग लाग्ने खतरा अधिक हुन्छ। यसका साथै उनीहरुलाई उच्च रक्तचापको समस्या हुनसक्छ। शरीरमा पर्याप्त भिटामिन डि भएन भने र्यूमेटाइड अर्थराइटिस, ल्यूपस, इंफलेमेट्री बावल डिजिज, टाइप र मधुमेह आदिको खतरा हुन्छ।