काठमाडौं– नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन्। संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ।
नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्। पाखा,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ। नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ।
यसका फाइदाहरुः
हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ। एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन्। यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ।
उच्च रक्तचापलाई कम गराउँछ पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ। केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ। चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ।
आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्टः
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ। वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन्।
क्यान्सरबाट बचाउँछः
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ। प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ।
तौल घटाउन प्रभावकारीः
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ। एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ। त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ। साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ।
फाइबरको अधिक मात्राले तौल नियन्त्रणः
फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ। यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ।