काठमाडौं– अधिकांश मानिसहरु स्वास्थ्यलाई भन्दा खानपानलाई बिशेष ध्यान दिने गर्दछन्। तर खानपानले स्वास्थ्यमा समस्या आएमा गाउँघरमा भनेको वेलामा स्वास्थ्यसेवा पाउन मुस्किल हुने गर्दछ। खाना पछि देखिने विभिन्न स्वास्थ्य समस्याको घरेलु उपचार गर्न सकेमा धेरै सहज हुन्छ। आफु बसेको वरिपरि सजिलो एवं सर्वसुलभ पाइने जडीबुटी तथा आर्युवेदिक औषधिहरू प्रयोगले विभिन्न राेगहरूबाट मुक्ति पाइन्छ।
रुघाखोकी लागेमाः
रूघाखाेकी लागेमा असुरोको पात वा फूलको रसलाई सुपको रूपमा प्रयोग गर्न सकिन्छ। ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाएमा खोकी लाग्ने समस्याबाट बच्न सकिन्छ। रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ। यसले खकार निकाल्न मद्दत गर्छ।
अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक श्वासप्रश्वास समस्या भएमा प्रयोग गर्ने सकिन्छ। सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (५–१० मि.लि) मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम, आदिबाट बच्न सकिन्छ।
झाडापखला लागेमाः
बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) ३ देखि ६ ग्राम, रस १० देखि २० मिलि सेवन गर्नाले दिसाको साथमा रगत आउने, रगतमासी हुने समस्या पनि समाधान हुन्छ। साधरण झाडापखलामा ३ ग्राम जिराको धुलो प्रयोग गर्न सकिन्छ।
बान्ता भएमाः
वाकवाकि, उल्टी हुँदा दालचिनी वा सुकमेल प्रयोग गर्न सकिन्छ। शुद्ध दालचिनी वा सुकमेलका धुलो प्रयोग गर्न सकिन्छ। अदुवाको रस वा सुकेको अदुवाको धुलो सेवन गर्दा पनि हुन्छ।
कब्जियत भएमाः
हर्रो, बर्रो र अमलाबाट बनेकाे त्रिफला चूर्ण राति सुत्ने वेलामा मनतातो पानीसँग खाँदा कब्जियतबाट मुक्त हुन सकिन्छ।
पेट दुखेमा वा पेटमा ग्यास भरिएमाः
पेट दुखेमा वा पेटमा ग्यास भरिएमा ३ देखि ५ ग्राम ज्वानोकाे धुलो प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर खान सकिन्छ। २–३ ग्राम पुदिनाको रस वा लेदो पनि प्रयोग गर्न सकिन्छ। १ सय २५ देखि ५ सय मिग्रा बोझोको चूर्ण र ५ सय मिग्रा टुक्रा प्रयोग गरेमा पेट दुखाइकाे समस्याबाट बच्न सकिन्छ।
अजीर्ण र ग्यास हटाउन टिमुरको धुलो साँझ–बिहान प्रयोग गर्न सकिन्छ। बच्चाहरूको साधारण पेट दुखाइ, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर खान दिँदा फाइदा हुन्छ।
ग्यास्ट्राइटिक भएमाः
अमला, मेथी, कुरिलोको जराको धुलो, जेठीमधुमध्ये कुनै एक जडीबुटीको धुलो साँझ–बिहान प्रयोग गर्दा ग्यास्ट्रिककाे लागि उपयोगी हुन्छ।
रक्तचाप बढेमाः
१ देखि ३ ग्राम जटामसी, निम वा सर्पगन्धा जडीबुटीको धुलो साँझ–बिहान प्रयोगले रक्तचाप सन्तुलनमा फाइदा गर्छ। १ देखि २ ग्राम लसुनको लेदो नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ।
चिनीरोग बढेमाः
चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्दा फाइदा हुन्छ। मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिज पिँधेर तयार गरिएको लेदोलाई (१–३ ग्रामसम्म) दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ। गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो (३ ग्रामसम्म ) नियमित रूपमा प्रयोग गर्दा पनि चिनीरोग नियन्त्रणमा फाइदा पुग्छ।