काठमाडौं– फलफुल मानव शरिरलाई पोषक तत्व प्रदान गर्ने आहार हो। यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उपलब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन पनि सहयोग गर्दछ। फलफुल खाएपछि हामी त्यसको बोक्रालाई भने मिल्काई दिन्छौं किनकी हामीलाई यसको फाइदाबारे ज्ञान नै छैन। त्यसैले आज हामी फलफूलका बोक्राकाे फाइदाबारे जानकारी गराउने छाैं।
सुन्तलाको बोक्राः
सुन्तलामा भिटामिन सि पाईन्छ। यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ। सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ। सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ। यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बनाउँछ।
सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ। सक्नुहुन्छ भने सुन्तलाको बोक्रा मर्याङमर्याङ चपाएर खानुस्। यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ। सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउनाले कब्जियतको समस्या हटेर जान्छ।
केराको बोक्राः
केराको बोक्राबाट प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ। यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ। केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ। केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ।
केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ। केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्वहरू हुन्छन्। केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ।
मेवाको बोक्राः
मेवाको बोक्रा तास्दा एक किसिमको सेतो चोपयूक्त तरल पदार्थ आउछ। सेतो चोपयूक्त तरल पदार्थसहित मेवाकाे बोक्रा सफा अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महशुस हुन्छ। यो प्रकृया हप्तामा दुई पटक गरेमा अनुहारमा चमक देख्न सकिन्छ।
खरबुजाको बोक्राः
खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ। यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ। खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या हट्छ भने यसले छालालाई विशेष चम्किलोपना प्रदान गर्छ।
शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस्। यसले वजन घटाउन सहयोग गर्छ। खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले स–सानो टुक्रा पारी खाने गर्नुस्। यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन खोर्सानीमा चोपेर खानुहोस्।
अनारः
अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइन्छ। त्यसकारण यसकाे ब्राेका खानाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ। घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ। गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ।
काँक्रोः
काँक्रोको बोक्रा खानाले हड्डी बलियो बन्छ। काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन्। त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ। शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु उपयोगी मानिन्छ।
स्याउः
स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन्। त्यसकारण बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन। स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ। स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ।
कागतीः
कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ। कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ। कागतीको बोक्रा खानाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ। कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ।