काठमाडौं, १८ माघ – अनशनरत डा. गोविन्द केसीलाई नागरिक समाजका प्रबुद्व व्यक्तिहरूले स्वास्थ्य अवस्थाको ख्याल गर्दै आमरण अनशन तोड्न अपिल गरेका छन्।
डा. केसीलाई सत्याग्रहलाई निरन्तरता दिँदै आमरण अनशन तोड्न आग्रह गर्नेहरूमा पूर्व न्यायाधीश शुशिला कार्की, दमननाथ ढुङ्गानाल भोजराज पोखरेल, सुरेन्द्रप्रसाद चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाइ र रवीन्द्रसिंह बानियाँ रहेका छन्।
चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले चलाएको अभियानको नेपाली नागरिकले उच्च मुल्यांकन गरेको र आमरण अनशन अन्त्य गरेर जारी राख्ने सत्याग्रहका अन्य स्वरुपमा आफूहरुको ऐक्यबद्धता रहने नागरिक अभियन्ताहरूले आफ्नो अपिलमार्फत प्रतिबद्धता व्यक्त गरेका छन्।
डा. गोविन्द केसीको १५औँ अनशनका क्रममा सरकारले गरेको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पास गरेर सत्याग्रहको विरुद्धमा सरकार बलपूर्वक पेस भएको अपिलमा उल्लेख गरिएको छ। यस्तो कार्यले सत्याग्रह जस्तो अहिंसात्मक आन्दोलनमाथि सरकारबाट हिलो छ्याप्ने काम भएको नागरिक अगुवाहरूको ठहर छ।