काठमाडौं– प्रायः मानिसले आजभोलि खाजाका रूपमा मःम खाने गर्दछन्। मःम खान धेरै रुचाउने मानिसहरुले घरमै पनि बनाएर खाने गर्छन्। तर, मःम मिठो हुनुमा अचारको पनि भूमिका रहेको हुन्छ। त्यसैले, आज हामी बाक्लो झोल मःमको अचार बनाउने केही टिप्स् लिएर आएका छौं, जुन घरमा सजिलै तरिकाले बनाउन सक्नुहुनेछ।
चाहिने सामग्रीः
सेतो तिल, भटमास, धनियाँको पत्ता, पुदिनाको पत्ता, अलिकति काटेको प्याज, अदूवा लसुन, आफूलाई चाहिने टमाटर (४ टुक्रा गरेर काट्ने) नुन, हरियो खुर्सानी, अलिकति मसला, हल्दी, तेल, जीरा, कागती।
बनाउने तरिकाः
सर्वप्रथम एउटा प्यानमा भटमासलाई भुट्ने त्यसपछि एउटा प्लेटमा निकाल्ने, त्यसै गरी सेतो तिललाई पनि भुट्नुहोस्। भुटेर त्यहीँ भटमास हालेको प्लेटमा निकाल्नुहोस्। त्यसपछी तातिएको प्यानमा तेल हालेर जीरा फुराउनुहोस् र हरियो खुर्सानीलाई भुटेर त्यसमा प्याज, लसुन अदूवा हालेर खैरो नभएसम्म भुट्नुहोस्।
त्यसैगरी टमाटर, नुन, बेसार, मसला हालेर टमाटर र तेल नछुट्टिएसम्म पकाउनुहोस् र ग्यास बाट निकालेर टमाटरलाई छोपेर राख्नुहोस्। अब मिक्सरमा भटमास र तिललाई पिस्नुहोस्, त्यसपछि पकाएकोे टमाटर, हरियो धनियाँ, पुदिना र पानी (आवश्यकताअनुसार) राखेर पिस्नुहोस्। पिसिएपछि एउटा सफा भाडोमा निकालेर कागती निचोर्नुहोस्। अब स्वादिष्ट मःमको अचार तयार भएको छ। यसलाई तातो तातो मःमसँग मज्जाले खानुहोस्।