एजेन्सी– खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न गराउने फल हो अमला। यसलाई अति स्वस्थकर फल मानिन्छ। यस्ता समस्या भएमा अमलाले धेरै फाइदा गर्छ।
आँखाको दृष्टिशक्ति बढाउनः अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ। मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ।
भिटामिन सीको कमी पूरा गर्नः अमला भिटामिन सीको प्रमुख स्रोत हो। त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ। भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन्। यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ।
रगत बग्नेः रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ।
कब्जियतः अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ। सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ।
अरुचिः दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ।
स्वास गन्हाउनेः अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ। केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ।
शरीरको गर्मीपना हटाउनः जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ।
चिलाउने समस्याः सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ।
कपालको चायाः हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ। साथै, कपाल पनि लामो र चम्किलो हुन्छ।