काठमाडौं– शाकाहारी खाना खानेहरुलाई तरकारी मात्र खाईरहदा दिक्क लाग्न सक्छ। कहिलेकाहीँ स्वादका लागि के खाने के नखाने भनेर अलमलिइरहेको अवस्था पनि आउन सक्छ। यस्तो अवस्थामा तपाईले आफ्नै भान्सामा मटर पनिरको सब्जी बनाउन सक्नुहुनेछ। त्यसैले आज हामी मटर पनिर कसरी बनाउने भन्ने बारे केही टिप्स् बताउदैछौं।
चाहिने सामग्रीः
उसिनेको मटर आधा कप, २०० ग्राम पनीर, हरियो खुर्सानी, क्रिम, प्याजको पेस्ट, जीरा, धुलो खुर्सानी, बेसर, मसला, हरियो धनियाँ, नुन स्वादअनुसार, तेल, पिसेको टमाटर र अदुवालसुनको पेस्ट।
बनाउने विधिः
सबैभन्दा पहिला एउटा प्यानमा तेल तताउनुहोस् र तताएको तेलमा काटेको पनिरलाई गोल्डेन ब्राउन नहुन्जेल सम्म तेलमा फ्राई गर्ने र अलगै अर्को प्लेटमा निकालेर राख्ने। त्यसपछि त्यहीँ प्यानमा अलिकति तेल तताइ, जीरा फुराएर प्याज र लसुनअदूवाको पेस्टलाई फ्राई गर्नुहोस्। त्यसमा बेसर, खुर्सानी, नुन तथा मसला सबै हालेर मज्जाले तेल ननिस्किएसम्म फ्राई गर्नुहोस्।
त्यसपछि, पिसेर राखेको टमाटर र उसिनेको मटरलाई राखेर मज्जाले भुट्नुहोस्। त्यसपछि अलिकति पानी राखेर मिडियम हिटमा राखेर ५ मिनेट पकाउनुहोस्, पानी अलि सुकेपछि तयार गरिएको पनिरलाई मिसाएर, दुई चम्चा क्रिम पनि हालेर २ देखि ३ मिनेटसम्म उमाल्नुहोस्। अन्त्यमा यसलाई हरियो धनियाले सजाएर स्वादिलो गरी खाना सँग मजाले खानसक्नुहुनेछ।