काठमाडौं– कम्मर र पेटतिर बोसो जम्मा हुनु समस्या निकै बढ्दो छ। पेटमा वा कम्मरमा बोसो धेरै भयो भने धेरै प्रकारका रोग निम्तिन्छन्। सुन्दरतामा पनि कमी ल्याउँछ। पेट र कम्मरतिर लागेको बोसो घटाउने सजिला उपाय निम्नप्रकार छन्।
– पोलिअनस्याचुरेटेड फ्याट्टी एसिड (पीयूएफए) युक्त खाना खानाले कम्मरमा बढी बोसो लाग्दैन। सालमन, ट्राउट अथवा अन्य खाले माछामा पीयूएफए प्रशस्त पाइने भएकाले मांसाहारीले मासुको सट्टा माछा खानुपर्छ। मासु नखाई नहुने छ भने स्याचुरेटेड फ्याट प्रशस्त पाइने रातो मासुको सट्टा कुखुराको मासु खानुपर्छ। यसो गर्नाले कम्मरमा अनावश्यक बोसो लाग्न पाउँदैन र कम्मर छिनेको देखिँदै जान्छ।
– कम्मरमा रहेको बोसो घटाउन बोसोजन्य खानाको मात्रा बढाउनुपर्छ। तर, यसरी बढाइने फ्याटजन्य खानामा ‘मोनोअनस्याचुरेटेड फ्याट्टी एसिड (एमयूएफए) बाहेक अर्काे खालको फ्याट हुनु हुँदैन। क्यालोरी र एमयूएफए उच्च भएको खाना खाने महिलाको कम्मर एक महिनामै एकतिहाइले घटेको एउटा अनुसन्धानका क्रममा पाइएको थियो। भोजनमा एमयूएफए सुनिश्चित गर्न हरेक दिन एक अँजुली ड्राई फुडमा एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर खानुपर्छ।
– रस युनिभर्सिटी मेडिकल सेन्टरले गरेको अध्ययनले डिप्रेसन भएका अथवा हुन लागेका महिलाको कम्मरमा बोसो बढी लाग्ने तथ्य पत्ता लगाएको थियो। अप्रसन्न रहने महिलाले शारीरिक काम कम गर्छन् र उनीहरूको भोजन पनि सामान्य अवस्थामा जस्तो स्वास्थ्यकर र व्यवस्थित हुँदैन। जसले गर्दा कम्मरमा बढी बोसो जम्मा हुने गर्छ। बारुले कम्मर चाहने हो भने प्रसन्न रहनुपर्छ।
– नियमित व्यायाम गर्नाले मानिसको दिमागमा एकखालको रसायन उत्पन्न हुन्छ, जसले शरीरमा रहेको बोसोलाई अन्य ऊर्जामा रूपान्तरण गराउन मद्दत गर्छ। कम्मर छरितो बनाउने हो भने नियमित व्यायाम गर्नुपर्छ। कार्बोहाइड्रेट बढी हुन्छ भने कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ।
चिप्स, कोल्ड ड्रिंक्स खानाले रगतमा चिनीको मात्रा ह्वात्तै बढ्छ र सँगसँगै शरीरमा इन्सुलिनको मात्रा पनि बढ्न पुग्छ। इन्सुलिनले कलेजोलाई शरीरको मध्य भागमा बोसो जम्मा गराउन मद्दत गर्छ। तसर्थ कम्मरलाई छरितो र आकर्षक बनाउने हो भने जंकफुडको मात्रा घटाउनुपर्छ र भोजनमा हरियो तरकारी र सलादको मात्रा बढाउने गर्नुपर्छ।
– पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ। साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै नष्ट हुन्छ। पसिना निकाल्ने सबैभन्दा उपयुक्त उपाय भनेको जगिङ हो। त्यसैले हरेक बिहान जगिङ गर्नुपर्छ।