तुलसीपुर, १८ माघ - दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ। गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए।
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा शल्यक्रिया गरिएको हो। गाउँपालिकामा यस आर्थिक वर्षदेखि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवाका लागि अस्पताल र गाउँपालिकाबीच सम्झौता भएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकामा १ सय २० जनाको आँखामा देखिएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने र कम्तीमा १ हजार ५ सयको आँखाको जाँच गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिए। कार्यक्रमलाई निरन्तरता दिनेसमेत उनले बताए।
अस्पतालले गरेको सर्वेक्षणअनुसार गाउँपालिकाको ३८ हजार ५ सय ९२ जनसङ्ख्यामध्ये ३ सय ९१ मा मोतिविन्दुको समस्या देखिएको छ। (रासस)