काठमाडौँ, १७ माघ – हामीलाई थाहा नभएका कुनै पनि खानेकुरा हाम्रा लागि औषधि हुनसक्छ। दैनिक रूपमा प्रयोग भरहँदा पनि हामीलाई यसको फाइदा थाहा हुँदैन। अण्डाले क्यान्सरबाट बचाउँछ भन्ने सुन्दा अपत्यारिलो लाग्नसक्छ। यस्तै बेहोराको आलेख हालै प्रकाशित भएको छ। उक्त लेखमा भनिएको छ, ‘वैज्ञानिकको एक टोलीले लामो समयसम्मको शोधपछि बेलायतमा यस्तो अण्डा उत्पादन गरेको छ, जसमा क्यान्सरबाट बचाउने प्रोटिन हुनेछ।’
अण्डाबारे हामीकहाँ विभिन्न भनाइ र बुझाइ छन्। कतिले अण्डा सेवनलाई उपयोगी मान्छन् भने कसैले यसलाई बर्जित गरेका छन्। कतिले अण्डाको पहेँलो भाग खान हुँदैन भन्छन् त कतिले त्यही पहेँलो भाग बढी स्वास्थ्यवद्र्धक हुने पनि दाबी गर्छन्। अण्डाबारे समाजमा व्याप्त भ्रम यसरी नै पैदा भएको छ। ‘अण्डा पहिला भयो कि कुखुरा’ भन्ने जस्ता बहसलाई हामीले अहिले पनि जारी राखेका छौँ।
बीबीसी हिन्दी अनलाइनमा प्रकाशित आलेखअनुसार वैज्ञानिकहरूले जुन अण्डा विकासित गरेका छन्, त्यसबाट प्राप्त हुने प्रोटिनबाट क्यान्सर प्रतिरोधी औषधि बनाउन सकिन्छ। यस प्रक्रियाबाट बनाइने औषधिको खर्च प्रयोगशालामा बनाइने औषधिभन्दा सयौँ गुणा सस्तो हुन्छ।
यसका लागि कुखुरामा जेनेटिक परिवर्तनका लागि त्यस्तो जीव राखिन्छ, जसले क्यान्सर प्रतिरोधी प्रोटिन पैदा गर्छ। शोधकर्ताले भनेका छन्, केही समयपछि अण्डालाई व्यापक रूपमा उत्पादन गर्न सम्भव हुनेछ।
कसरी बन्नेछ औषधि?
एडिनबरास्थित रोसिन टेक्नोलोजिज नामक कम्पनीसँग जोडिएका डा. लिसा हेरानका अनुसार शोधका क्रममा ती कुखुराले कुनै किसिमको कष्ट भोग्नुपरेन। यद्यपि, पोल्ट्री फर्मका कुखुराको तुलनामा यस कुखुरालाई विशेष ख्याल गरिएको थियो।
डा. हेरान भन्छन्, ‘केही पेशेवर व्यक्तिको टिमले यस कुखुरालाई खास हेरचाह गरिरहेका छन्, त्यसको खानपिनको ध्यान राखिरहेका छन् र आम कुखुराभन्दा यो एकदमै आरमदायक ढङ्गले हुर्किरहेको छ। यदि अण्डाको कुरा गर्ने हो भने सामान्य रूपमै यसबाट अण्डा पैदा भइरहेको छ।’
यसअघि पनि यस्तै किसिमको सोध गरिएको थियो। त्यसअन्तर्गत बाख्रा, कुखुरा र खरायोको जेनेटिक परिवर्तन गरी त्यसको दूध एवं अण्डाबाट रोग प्रतिरोधात्मक प्रोटिन लिन सकिन्छ भन्ने थाहा भएको थियो। शोधकर्ताका अनुसार यो नयाँ तरिका एकदमै प्रभावशाली र सस्तो छ। पुरानो तरिकाको तुलनामा यसबाट केही मात्रामा बढी प्रोटिन उत्पादन गर्न सकिन्छ।
डा. हेरान भन्छन्, ‘कारखानाले उत्पादन गर्ने प्रोटिनभन्दा कुखुराको मद्दतले उत्पादन हुने प्रोटिन दश गुनादेखि सय गुणासम्म बढी सस्तोमा निकाल्न सकिन्छ। यसबाट के अपेक्षा राख्न सकिन्छ भने औषधि उत्पादनमा हुने कुल खर्च कम्तीमा दश गुना कम गर्न सकिन्छ।’
किन सस्तो छ यो काइदा?
यस प्रक्रियाका सबैभन्दा धेरै बचत आधारभूत ढाँचासँग जोडिएको छ। ल्याबमा यो औषधि बनाउनका लागि जीवाणुरहित प्रयोगशालाको निर्माण गर्नुपर्ने हुन्छ। त्यसैगरी यस औषधियुक्त अण्डाका लागि सामान्य कुखुरालाई केवल खोर भए पुग्छ।
कतिपय रोगको कारण के हुन्छ भने रोगी व्यक्तिको शरीर प्राकृतिक रूपले कुनै एक रसायन वा प्रोटिन उत्पादन गर्न सकिरहेको हुँदैन। यस्तो अवस्थामा शरीरलाई एक निश्चित प्रोटिनको आपूर्ति गर्ने औषधिले त्यस रोगबाट उन्मुक्ति दिलाउन सकिन्छ । फर्मास्युटिकल कम्पनीले यस्ता आौषधि प्रयोगशालामा बनाउँछ, जो एकदम महँगो वा खर्चिलो हुन्छ।
डा. हेरान र उनका टिमले कुखुराको अण्डाको सेतो भाग बनाउने डीएनएको हिस्सामा त्यस मासिनको जिन राखेको छ, जसमा यो प्रोटिन उत्पादन हुन्छ। डा. हेरानको टिमले जब यस कुखुरामा भएको अण्डालाई फुटाएर सेतो भागको जाँच गरेका थिए, तब थाहा भयो कि त्यसमा धेरै मात्रामा क्यान्सर प्रतिरोधी प्रोटिन थियो।
कुन हो यो प्रोटिन?
यस समूहले दुई किसिमको प्रोटिनमा आफ्नो ध्यान केन्द्रित गरेको छ, जुन रोग प्रतिरोधात्मक क्षमताका लागि आवश्यक हुन्छ। यसमा पहिलो प्रोटिन, जो सङ्क्रमण र क्यान्सरविरुद्ध एकदम प्रभावशाली हुन्छ। दोस्रो किसिमको प्रोटिन, जसले क्षतिग्रस्त कोशिकाको मर्मत गर्छ।
एउटै कुखुराबाट बढीभन्दा बढी अण्डा पैदा गराउन सकिन्छ। यसलाई व्यापक रूपमा विस्तार गरी व्यावसायिक हिसाबले अण्डा उत्पादन हुन्छ। यस प्रक्रियाबाट औषधि उत्पादन र त्यसको नियामक संस्थाको सहमति लिनका लागि १० देखि २० वर्षको समय लाग्नसक्छ।