काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाएका छन्।
आज सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने र शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक धन्यवाद दिएका छन्।
ट्वीटमा भनिएको छ, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद व्यक्त गर्दछु।’
प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधारको क्रम जारी रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो। रासस