काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभरका करिब १ लाख १० हजार क्रियाशील सदस्यको विवरण अद्यावधिक गरेको छ।
पार्टीमा सक्रिय रहेर विभिन्न तहका संगठनमा काम गरिरहेका सदस्यहरूको अभिलेख पुनः व्यवस्थित गरिएको नेता राजाराम श्रेष्ठले बताएका छन्।मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने पार्टीको महाधिवेशनका लागि सदस्यता नवीकरण तथा अद्यावधिक प्रक्रिया अघि बढाइएको हो। विगतमा राप्रपामा करिब डेढ लाख क्रियाशील सदस्य रहेको बताइएको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको काम पनि अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। प्रदेश निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि चयन गरिने व्यवस्था छ, जसमा ३ जना महिला अनिवार्य रहनेछन्।महाधिवेशनअघि ७६ जिल्लामा जिल्ला अधिवेशन र ५ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन्। विभिन्न तहबाट निर्वाचित अध्यक्षहरूलाई महाधिवेशनमा पदेन प्रतिनिधिका रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ।यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट चयन हुने प्रतिनिधिमध्ये ४० वर्षमुनिका कम्तीमा एक जना युवा समावेश हुने व्यवस्था पनि पार्टीले गरेको छ।