काठमाडौं । इरानमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ भने ८ सयभन्दा बढी मानिस बिरामी परेका छन्।
देशका विभिन्न क्षेत्रमा गुणस्तरहीन पेय पदार्थ सेवनपछि उनीहरूमा विषाक्तताको लक्षण देखिएको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केरमानपोरका अनुसार अक्टोबर ३१ यता ८६५ जना उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका छन्। बिरामीमध्ये ७४६ पुरुष र ११९ महिला रहेका छन्।
सबैभन्दा बढी मृत्यु दक्षिणी होर्मोजगान प्रदेशमा भएको छ, जहाँ १० जनाले ज्यान गुमाएका छन्। त्यस्तै, खोरासान रजावीको नेइशाबुरमा ६ जना तथा फार्स प्रदेशको शिराजमा ५ जनाको मृत्यु भएको छ।हाल १६० जना अस्पतालमा उपचाररत छन्। तीमध्ये २४ जनालाई सघन उपचार कक्षमा राखिएको छ भने ८ जनामा मदिरा सेवनका कारण मस्तिष्कमा असर परेको संकेत देखिएको बताइएको छ।इरानमा मदिराको उत्पादन, बिक्री वितरण र सेवन कानुनले प्रतिबन्धित गरेको छ।