काठमाडौं ।म्यानमारमा सैन्य हवाई हमलाका घटना बढ्दै गएका बेला विवाह समारोहलाई लक्षित गरी गरिएको आक्रमणमा कम्तीमा २१ जनाको ज्यान गएको छ।
घटनामा अन्य ३५ जना घाइते भएका छन्।उद्धारकर्मीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मो बाइ गाउँमा विवाह कार्यक्रम भइरहेका बेला हवाई हमला भएको थियो। आक्रमणबाट समारोहमा सहभागी ठूलो संख्यामा मानिस प्रभावित भएका छन्।यसअघि बिहीबार मध्य म्यानमारको मागवे क्षेत्रस्थित इन योन गाउँको विद्यालयमा पनि सेनाले हवाई आक्रमण गरेको निर्वासित राष्ट्रिय एकता सरकार एनयूजीले जनाएको थियो। उक्त घटनामा विद्यार्थी, शिक्षक तथा युवा बौद्ध भिक्षुसहित कम्तीमा २० जनाले ज्यान गुमाएका थिए।
शनिबार साँझ पश्चिमी म्यानमारको राखिन राज्यस्थित म्रौक–यू शहरमा समेत बम हमला भएको विवरण सार्वजनिक भएको छ। आवासीय क्षेत्रमा भएको विस्फोटमा १० भन्दा बढीको मृत्यु र करिब २० जना घाइते भएको बताइएको छ। उक्त क्षेत्र अरकान आर्मीको नियन्त्रणमा रहेको छ।सन् २०२१ मा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमार गृहयुद्धको चपेटामा छ। त्यसयता देशका विभिन्न भागमा सैन्य कारबाही र हवाई आक्रमण जारी रहँदा सर्वसाधारणले ठूलो मानवीय क्षति बेहोर्दै आएका छन्। पछिल्ला आक्रमणबारे सैन्य सरकारको आधिकारिक प्रतिक्रिया आएको छैन।