काठमाडौं ।भारतको चेन्नईमा आयोजना हुने सातौँ साबा च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा नेपाली राष्ट्रिय पुरुष टोलीले आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै यात्रा सुरु गर्ने भएको छ।
नेपाल बास्केटबल एसोसिएसन ९नेबा० का अनुसार डिसेम्बर ५ मा नेपालले भारतसँग पहिलो खेल खेल्नेछ। डिसेम्बर ५ देखि १० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ देश सहभागी हुनेछन्।प्रतियोगितामा नेपाल, भारत र बंगलादेश समूह ‘ए’ मा रहेका छन् भने श्रीलंका, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन्। नेपालले समूह चरणको दोस्रो खेल डिसेम्बर ६ मा बंगलादेशसँग खेल्ने तालिका छ।
समूह चरणका खेल डिसेम्बर ७ सम्म सञ्चालन हुनेछन्। यसपटक प्रतियोगितामा सेमिफाइनल प्रवेशको व्यवस्था पनि फरक बनाइएको छ। दुवै समूहका विजेता टोलीले सीधै अन्तिम चारमा स्थान बनाउनेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले क्वालिफिकेसन खेलमार्फत सेमिफाइनल पुग्ने अवसर पाउनेछन्।
तालिकाअनुसार डिसेम्बर ८ मा क्वालिफिकेसन खेल हुनेछन्। डिसेम्बर ९ मा सेमिफाइनलसँगै पाँचौँ र छैटौँ स्थान निर्धारणका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल तथा तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा डिसेम्बर १० मा हुनेछ।