काठमाडौं ।लामो समयदेखि बन्द अवस्थामा रहेको काठमाडौंको टेकुस्थित जैविक फोहोर प्रशोधन प्लान्ट पुनः सञ्चालनमा आएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको उद्घाटन गरेका हुन्।परीक्षण प्रक्रिया पूरा भएपछि प्लान्ट सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रमा संकलन हुने जैविक फोहोर प्रशोधन गरी त्यसबाट बायोग्यास तथा मिथेन ग्यास उत्पादन गर्ने यसको मुख्य उद्देश्य हो। फोहोरलाई ऊर्जामा परिणत गर्दै वातावरणीय प्रदूषण घटाउने र स्वच्छ तथा हरित काठमाडौं निर्माणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच गत साउनको दोस्रो सातातिर सम्झौता भएको थियो।महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु गरिएको यो प्लान्टले २०७५ सालदेखि काम थालेको थियो। तर, लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन।
प्लान्टको प्रारम्भिक योजनाअनुसार दैनिक तीन मेट्रिकटन जैविक फोहोर प्रशोधन गरेर १४ किलोवाट विद्युत्, ३०० किलो जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो। प्लान्ट निर्माणका लागि काठमाडौं महानगरपालिका र युरोपेली संघले संयुक्त रूपमा एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए।