काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबार दुई वटा रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दा दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। उक्त खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। कर्णालीले हालसम्म तीन खेल खेलेकोमा दुई जित र एक हारसहित चार अंक जोडेको छ। अंक तालिकामा कर्णाली तेस्रो स्थानमा रहेको छ। पहिलो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको कर्णालीले त्यसपछि विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई पराजित गर्दै लगातार दुई जित निकालेको थियो।
यता, सुदूरपश्चिमले चार खेलबाट दुई जित र दुई हार बेहोरेको छ। चार अंकसहित टोली अंक तालिकाको छैटौँ स्थानमा रहेको छ। सुदूरपश्चिमले पहिलो खेलमा चितवनलाई हराएको थियो भने दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो। त्यसपछि पोखरालाई पराजित गरेको सुदूरपश्चिम आफ्नो चौथो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
चितवन र पोखरा पनि भिड्दै
शुक्रबारकै दोस्रो खेलमा दिउँसो ४ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। चितवनले तीन खेलबाट एक जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा कुल तीन अंक जोडेको छ। टोली अंक तालिकाको सातौँ स्थानमा छ। चितवन पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो भने लुम्बिनीविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा भने चितवनले विराटनगर किंग्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। पोखरा एभेन्जर्स भने अहिलेसम्म जितविहीन छ। तीन खेल खेलेको पोखराले तीनै खेलमा हार बेहोरेको छ। टोली अंक तालिकाको पुछारमा रहेको छ। पोखरा पहिलो खेलमा लुम्बिनी लायन्स, दोस्रो खेलमा जनकपुर बोल्ट्स र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।