काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालका पुराना र नयाँ भवनलाई जोड्ने गरी लिफ्ट सुविधासहितको आकासे पुल निर्माण गर्ने भएको छ ।
पुल निर्माण भएपछि अस्पतालका एक भवनबाट अर्को भवनमा जान बिरामीले सडक पार गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार पुल निर्माण कार्यको शिलान्यास गरेकी छन् । उक्त संरचना निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ खर्च हुने जनाइएको छ । निर्माण कार्य आगामी कात्तिक ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रस्तावित पुलको दुवै छेउमा लिफ्ट राखिनेछ । ती लिफ्टबाट अस्पतालमा प्रयोग हुने शय्यासहितका बिरामीलाई एक भवनबाट अर्को भवनमा सहज रूपमा लैजान सकिने व्यवस्था गरिनेछ । हाल वीर अस्पतालका दुई भवनको बीचमा महाबौद्धतर्फ जाने मुख्य सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा पुग्न बिरामीलाई सडक पार गराउनुपर्ने अवस्था छ । आकासे पुल सञ्चालनमा आएपछि यस्तो असुविधा हट्ने र बिरामीलाई वारपार गराउन सहज हुने विश्वास गरिएको छ । काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्टसँगै भर्याङसमेत निर्माण गरिनेछ ।