काठमाडौं ।चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रतिनिधिमण्डल आज स्वदेश फर्किने भएको छ ।
रास्वपाका महामन्त्रीको नेतृत्वमा रहेको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न सहरको भ्रमण गरेको हो ।रास्वपाका सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी विस्तार गर्ने तथा सहकार्यका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय भेटवार्ता गरेको थियो । महामन्त्री र लीबीच भएको करिब डेढ घण्टाको छलफलमा दुई पार्टीबीच आपसी बुझाइ बढाउने र भविष्यमा हुन सक्ने सहकार्यका विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ ।
टोलीले चीनका छेन्दु, हाङझाउ र बेइजिङका विभिन्न विश्वविद्यालय, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो । यसका साथै वेनचुआन पुगेर भूकम्पपछिको पुनर्निर्माण, प्रभावित बस्तीको पुनःस्थापना र जनजीवन सामान्य बनाउने प्रयासबारे जानकारी लिएको थियो ।चिनियाँ निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तार र नेपालमा लगानीका सम्भावनाबारे पनि कुराकानी भएको रास्वपाले उल्लेख गरेको छ ।
भ्रमणबाट प्राप्त अनुभव र छलफललाई कार्यान्वयनमा लैजान युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार, व्यापार तथा विपद् व्यवस्थापनका क्षेत्रमा सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रसँग सहकार्य गर्ने रास्वपाको योजना छ ।भ्रमणका क्रममा सहयोग र आतिथ्य प्रदान गरेको भन्दै रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ पक्षप्रति आभार व्यक्त गरेको छ ।