काठमाडौं । सुरुवातमै ब्याटिङ धरमराए पनि कप्तान दीपेन्द्र सिंह ऐरीको शानदार अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनले सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुर्याएको छ। शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई सात रनले पराजित गरेको हो।
जितका लागि १२६ रनको लक्ष्य पाएको काठमाडौंले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११८ रनमै आफ्नो इनिङ्स टुंग्यायो। यससँगै लगातार चार खेलमा अपराजित रहेको काठमाडौंको जित यात्रामा पूर्णविराम लागेको छ।
सानो लक्ष्य रक्षा गर्ने क्रममा सुदूरपश्चिमका बलरहरूले काठमाडौंका ब्याटरलाई खुलेर खेल्न दिएनन्। पछिल्ला दुई खेलमा लगातार कम योगफललाई सफलतापूर्वक जोगाउनु सुदूरपश्चिमको बलियो पक्ष बनेको छ।
काठमाडौंको ब्याटिङमा राशिद खानले अविजित ३५ रन बनाए। ३१ बल खेलेका उनले पाँच चौका प्रहार गरे। दुसान हेमन्थाको ब्याटबाट २१ रन निस्कियो।
काठमाडौंको अवस्था ४८ रनमा पाँच विकेट झर्दा निकै कमजोर बनिसकेको थियो। त्यस्तो अवस्थामा राशिद र हेमन्थाले छैटौँ विकेटका लागि ३४ रन जोड्दै जितको आशा जीवित राखेका थिए। तर, अन्तिमसम्म टिकेका राशिदले पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन्।
साम हिजलेटले ११, सन्तोष यादवले १०, आदिल आलमले आठ र कप्तान करण केसीले आठ रन जोडे। ओपनिङमा आएका भीम शार्की र सहान अराचिगे भने रन नजोड्दै आउट भए।
सुदूरपश्चिमका लागि अनिल खरेलले दुई विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले पनि एक–एक विकेट लिएर काठमाडौंको रन गति नियन्त्रणमा राखे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। टोलीको सुरुवात भने निकै निराशाजनक रह्यो। केवल आठ रन जोड्दा चार विकेट गुमाइसकेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रले आफ्नो जिम्मेवारीपूर्ण ब्याटिङबाट खेलमा फर्काएका थिए।
दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ६० रन बनाए। आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रन जोडेका उनले त्यसपछि थरिन्दु रत्नायकेसँग छैटौँ विकेटमा थप ५४ रनको साझेदारी गरे।
आरिफले २५ बलमा एक चौकासहित १६ रन बनाए भने थरिन्दु २३ बलमा तीन चौका प्रहार गर्दै २६ रनमा नटआउट रहे।
दीपेन्द्रका लागि जारी एनपीएलमा यो दोस्रो अर्धशतक हो। यसअघि पोखरा एभेन्जर्सविरुद्ध उनले अविजित ५१ रन बनाएका थिए। प्रतियोगितामा दुई अर्धशतक बनाउने खेलाडीको सूचीमा उनी काठमाडौंका राशिद खानपछि दोस्रो बनेका छन्।
सुदूरपश्चिमको बलियो स्कोर बन्न नदिन काठमाडौंका जहानदाद खानले प्रभावशाली बलिङ गरे। उनले चार ओभरमा एक मेडन राख्दै २२ रन खर्चेर तीन विकेट लिए। सन्तोष यादवले तीन ओभरमा १६ रन दिएर दुई विकेट झारे।
यो नतिजासँगै सात खेलबाट १० अंक पुर्याएको सुदूरपश्चिम अंकतालिकाको पहिलो स्थानमा पुगेको छ। लिग चरणका सबै खेल सकिएसँगै उसको प्लेअफ यात्रा सुनिश्चित भएको छ भने शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ।
छ खेलबाट आठ अंक जोडेको काठमाडौं भने हाल तेस्रो स्थानमा छ। उसको लिग चरणको अन्तिम खेल आइतबार पोखरा एभेन्जर्ससँग हुनेछ। उक्त खेल जित्न सके काठमाडौंसँग शीर्ष दुईमा उक्लिने र पहिलो क्वालिफायरमा स्थान बनाउने अवसर कायमै रहनेछ।