काठमाडौं ।इलामको पशुपतिनगर क्षेत्रमा सशस्त्र प्रहरीले १६ लाख ५३ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
सीमा क्षेत्रबाट चोरी पैठारी तथा निकासी भइरहेको अवस्थामा केही पशुचौपायासमेत नियन्त्रणमा लिइएको छ।सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा उक्त परिमाणको सामान बरामद गरिएको हो।गुल्मले सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरेको निगरानी तथा कारबाहीका क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता–चप्पल र मदिराजन्य वस्तु नियन्त्रणमा लिएको जनाएको छ।
बरामद सामानमा १७८ कार्टुन अर्थात् तीन हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ र ५७० किलो फर्सीको बियाँलगायत सामग्री रहेका छन्।सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा क्षेत्र तथा खोलागोदाम आसपासबाट सशस्त्र प्रहरीका बीओपी मानेभञ्ज्याङ र छब्बिसेको संयुक्त टोलीले ती सामग्री बरामद गरेको हो।सीमा क्षेत्रमा हुने अवैध ओसारपसार र भन्सार छली रोक्न नियमित गस्ती, निगरानी तथा कारबाहीलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।