काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीका अवसर विस्तार गर्न बेलायती कम्पनीहरूलाई आग्रह गरेका छन्।
उनले निजी क्षेत्रसँग सहकार्य गर्दै पारदर्शी, स्थिर र विश्वासयोग्य व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको ‘नेपाल–युके बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री साहले नेपालमा संयुक्त लगानी, प्रविधि हस्तान्तरण र उत्पादनमूलक उद्योगमा साझेदारीका सम्भावना खोज्न बेलायती व्यवसायीलाई आह्वान गरेका हुन्।
उनले बेलायतमा बसोबास तथा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई पनि स्वदेशमा पुँजी, सीप, अनुभव र नयाँ प्रविधि भित्र्याउन भूमिका खेल्न आग्रह गरे। डायस्पोराले नेपाल र बेलायतबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारमा पुलको काम गर्न सक्ने उनको भनाइ थियो।मन्त्री साहले नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता र सहकार्यलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारमार्फत दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सकिने उनले बताए।
उनका अनुसार नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन, औद्योगिक विकास, पूर्वाधार र सेवा क्षेत्र नेपाल–बेलायत सहकार्यका सम्भावित क्षेत्र हुन्।लगानीका अवसर मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले लगानीकर्तालाई आवश्यक पर्ने नीतिगत स्थिरता, पारदर्शिता र विश्वासको वातावरण निर्माणमा सरकारले काम गरिरहेको जानकारी दिए।
मन्त्री साहले निजी क्षेत्रले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिको पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण र निर्यात सहजीकरणका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए।कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल र बेलायतबीचको साझेदारी निरन्तर विस्तार भइरहेको उल्लेख गरे।
नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका सभापति रोशन राठीले दुई देशबीच दोहोरो कर मुक्ति सम्झौता गर्न सके व्यापार तथा लगानी विस्तारका लागि थप सहज वातावरण बन्ने धारणा राखे।