काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका अधिकांश तयारी पूरा भएको जानकारी दिएको हो।
परिषद्का अनुसार मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा गरिनेछ भने विभिन्न खेलका प्रतिस्पर्धा भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्। प्रतियोगितामा ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए। उनका अनुसार सातवटै प्रदेशसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
प्रतियोगिताका खेलहरू कर्णाली प्रदेशसहित विभिन्न स्थानमा सञ्चालन गरिनेछन्। जसअनुसार सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ खेल आयोजना हुने परिषद्ले जनाएको छ। दशौँ राष्ट्रिय खेलकुदमा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदक रहेका छन्।प्रतियोगितामा व्यक्तिगत विधातर्फ स्वर्ण पदक जित्नेलाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य पदक प्राप्त गर्नेलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, टिम विधातर्फ स्वर्ण, रजत र कांस्य पदक विजेताले क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ प्राप्त गर्ने परिषद्ले जनाएको छ।