काठमाडाैँ । स्याङ्जाको सात सय कोल्मा बहाकोटमा आगामी पुस ८ गते राष्ट्रियस्तरको क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ। ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नारासहित प्रतियोगिताको सातौँ संस्करण सञ्चालन गर्न लागिएको हो।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। मञ्चका अध्यक्ष दूतप्रसाद गुरुङका अनुसार गाउँबाट बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएका बस्तीमा पुनः चहलपहल बढाउने, स्थानीय संस्कृति संरक्षण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा करिब ५०० जना धावक सहभागी हुने आयोजकको अनुमान छ। बेलायत, अमेरिका, जापान, हङकङ, जर्मनीलगायत विभिन्न देशमा रहेका नेपाली तथा पोखरा र काठमाडौंमा बसोबास गर्ने कोल्मावासीलाई आफ्नो जन्मथलोसँग जोड्ने उद्देश्यले पनि प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ।
यस वर्ष खेलकुदसँगै स्थानीय लोकसंस्कृतिको प्रदर्शन र होमस्टे साँझसमेत आयोजना गरिने प्रतियोगिताका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक जीतबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार खेलकुद र पर्यटनलाई जोडेर ग्रामीण क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ। प्रतियोगितामा खुला पुरुष तथा महिला २५ किलोमिटर, महिला १० किलोमिटर, २१ वर्षमुनिका पुरुष १० किलोमिटर, विद्यार्थी छात्रछात्राको ५ किलोमिटर तथा ३० वर्षमाथिका महिलाको लुंगी ड्रेस दौड समावेश गरिएको छ। सबै विधाका दौड कोल्मा बराहचौरबाट सुरु भई विभिन्न क्षेत्रको परिक्रमा गरेर पुनः सोही स्थानमा आएर सम्पन्न हुनेछन्।
पुरस्कारतर्फ खुला २५ किलोमिटर दौडका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, १० किलोमिटर दौडका विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउनेछन्। विद्यार्थीतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिनेछ। लुंगी ड्रेस दौडका विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।