काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी संघर्षमा कुनै पनि आर्थिक लेनदेन नभएको बताएका छन्।
बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले आधिकारिकताको लडाइँमा एक सुको पनि आर्थिक कारोबार नभएको स्पष्ट पारेका हुन्। इनम सापकोटाले लगाएका भनाइको जवाफ दिइरहन आवश्यक नरहे पनि विषयलाई लिएर केही कुरा प्रस्ट पार्नुपर्ने उनले बताएका छन्। थापाले यस प्रकरणमा आफूहरूको चाहना निष्पक्ष अनुसन्धान होस् भन्ने रहेको उल्लेख गरे। अनुसन्धानबाट वास्तविकता आफैँ स्पष्ट हुने भन्दै उनले त्यसको नतिजा पर्खिरहेको बताए। उनले भने, ‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो। अनुसन्धानले दूधको दूध, पानीको पानी छुट्याउँछ। हामी त्यसकै प्रतीक्षामा छौँ।’