काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने भए पनि अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना छ। हिमाली क्षेत्रमा मौसम बदलीसँगै चिसोसमेत बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको छ। अन्य पहाडी तथा तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
यसैगरी, शनिबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।