काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव अझै कायमै रहेको छ।
यसको प्रभावका कारण आज देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहने सम्भावना छ। आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा समेत आंशिक बादल लाग्न सक्ने महाशाखाले जनाएको छ। अन्य भूभागमा भने मौसम मुख्यतः सफा रहनेछ। रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार शुक्रबार पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ। शुक्रबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।