काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लाइन्सले जनकपुर बोल्ट्ससँग तथा विराटनगर किंग्सले काठमान्डु गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछन्। दिनको पहिलो खेलमा दिउँसो साढे १२ बजे लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। उसले तीन खेल खेलेकामा दुई खेलमा जित हासिल गरेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ।
यता जनकपुर बोल्ट्स चार खेलबाट दुई जित र दुई हारसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ। त्यसैले आजको खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा हेरिएको छ। यस्तै, बिहीबारकै दोस्रो खेलमा दिउँसो साढे ४ बजे विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर किंग्सले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। समान खेलबाट चार अंक जोडेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। काठमान्डु गोर्खाजले भने प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको छ। एक खेलमा जित र अर्को खेलमा हार बेहोरेको काठमान्डु अंक तालिकाको सातौँ स्थानमा छ। आज हुने दुवै खेलमा शीर्ष स्थानका टोलीलाई आफ्नो पकड कायम राख्ने र अन्य टोलीलाई अंक तालिकामा सुधार गर्ने अवसर हुनेछ।