काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले उकालो लाग्दै २ हजार ५९५.८१ विन्दुमा पुगेको हो।
सोमबार कुल २७७ कम्पनीको सेयर कारोबार भएकोमा १०५ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। कारोबार अवधिभर १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४६ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, स्कोनो रिभरको मूल्य १३.९२ प्रतिशतले उकालो लागेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। बैंकको २५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकमका हिसाबले घलेम्दी हाइड्रो दोस्रो र साहस ऊर्जा तेस्रो स्थानमा रहे।समूहगत परिसूचकतर्फ बैंकिङ र ट्रेडिङ समूहमा एक प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। अन्य समूहमा भने सामान्य उतारचढाव भएको छ। समग्रमा बजार परिसूचक बढे पनि घट्ने कम्पनीको संख्या बढ्ने कम्पनीभन्दा धेरै देखिएको छ।