काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले घटेको हो।महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, सोमबार १० ग्राम सुनको मूल्य दुई लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँ रहेको चाँदी सोमबार २५ रुपैयाँले घटेर चार हजार ४१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।महासंघका अनुसार सोमबार १० ग्राम चाँदीको मूल्य तीन हजार ७८५ रुपैयाँ कायम भएको छ।सुनचाँदीको मूल्यमा आएको गिरावटसँगै गहना खरिद गर्ने उपभोक्ताले बजारको नयाँ मूल्यमा चासो राखेका छन्। यद्यपि, सुनचाँदी खरिद गर्दा व्यवसायीले तोकेको मूल्यसँगै ज्याला, जर्ती तथा अन्य लागू हुने शुल्कसमेत बुझ्नुपर्ने हुन्छ।