काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले महाधिवेशनमा आफूलाई मत दिने प्रतिनिधिदेखि महाधिवेशन सफल बनाउन खटिने सबैलाई धन्यवाद दिएकी छन्।
उनले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि, काठमाडौंसम्म आएर साथ र हौसला दिने साथीहरू, स्वयंसेवक, सुरक्षाकर्मी तथा विभिन्न ठाउँबाट सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी हुन्।
थापाले राजनीतिलाई पद र प्रतिष्ठासँग मात्र जोडेर हेर्न नहुने बताउँदै विचार, निष्ठा र जनताको सेवामा समर्पित हुनुपर्ने धारणा राखेकी छन्। आफूलाई प्राप्त मत र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै उनले सबैलाई समेटेर सहकार्य र एकताका साथ अघि बढ्ने बताएकी छन्।
पार्टीलाई बलियो बनाउने, कार्यकर्ताको सम्मान गर्ने र सकारात्मक राजनीतिक संस्कार विकास गर्ने काममा निरन्तर लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।
‘तपाईंहरूको विश्वास नै मेरो शक्ति हो, तपाईंहरूको साथ नै मेरो प्रेरणा हो र तपाईंहरूको अपेक्षा नै मेरो जिम्मेवारी हो,’ थापाले आफ्नो सन्देशमा लेखेकी छन्।