काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि सैन्य आक्रमण नगर्ने बताएका छन्।
इरानसँग सकारात्मक संवाद भइरहेको उल्लेख गर्दै उनले तेहरानको आर्थिक तथा सैन्य अवस्था कमजोर रहेको दाबी गरेका छन्।ट्रम्पको उक्त अभिव्यक्तिअघि अमेरिकी सञ्चारमाध्यमहरूले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य संरचनालाई लक्षित गरी आक्रमणको योजना तयार पार्न पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए। यसले अमेरिका र इरानबीचको तनावबारे थप चासो बढाएको छ।
यसैबीच, हर्मुज जलघाँटीमा जारी तनाव तथा मध्यपूर्वमा बढ्दो क्षेत्रीय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको विवरण सार्वजनिक भएको छ। तेलको मूल्यवृद्धिले अमेरिकी उपभोक्तामाझ पनि चिन्ता बढाएको छ।फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि इन्धनको मूल्य बढेको विषय अमेरिकी राजनीतिमा समेत महत्त्वपूर्ण बनेको छ। विभिन्न जनमत सर्वेक्षणले इन्धनको महँगीप्रति मतदाताको असन्तुष्टि देखाएको उल्लेख गरिएको छ।
निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको रिपब्लिकन पार्टीलाई कङ्ग्रेसमा आफ्नो बहुमत कायम राख्न चुनौती रहेको बताइएको छ। प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरे आफूले महाभियोगको सामना गर्नुपर्ने हुन सक्ने चेतावनीसमेत ट्रम्पले दिएका छन्।यसैगरी, इरानले अमेरिकी सहरहरूमा आक्रमण गर्न सक्ने सम्भावनाबारे आफ्नो अभिव्यक्तिको आलोचना भएपछि ट्रम्पले सञ्चारमाध्यमले त्यसलाई गलत ढङ्गले प्रस्तुत गरेको आरोप लगाएका छन्। उनले इरानसँग आणविक हतियार नरहेको अवस्थामा इन्धनको मूल्यमा भएको वृद्धि अस्थायी लागत भएको तर्क गरेका छन्।