काठमाडौं ।नेकपा एमाले ले पार्टीको स्थानीय तहमा हुने अधिवेशनको मिति निर्धारण गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले वडा कमिटीको अधिवेशन मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।बैठकको सुरुवातमा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। उनलाई केन्द्रीय कमिटीको तेस्रो बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो।एमालेले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीसँगै पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा विभिन्न तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरमा पनि भेला आयोजना गरिने एमालेले जनाएको छ।यस्तै, मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गरेकी जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।यसैगरी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला तहबाटै नयाँ अध्यक्ष चयन गरी संगठन कमिटीमा रूपान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदन गराउने निर्णय भएको छ।स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्ने जनाइएको छ।