काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक तथा सामाजिक समृद्धि कुनै एक पक्षको प्रयासबाट मात्र हासिल गर्न नसकिने बताएका छन्।
उनले राज्य, निजी क्षेत्र र समाजका सबै पक्षको साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा गर्न सकिने धारणा राखेका छन्।नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी तथा सदस्यसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकासको अभियानलाई परिणाममुखी बनाउन निजी क्षेत्रले अझ सक्रिय र सिर्जनशील भूमिका निर्वाह गर्नुपर्ने बताए।उनले नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी, गतिशील र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गरे। सरकारबाट लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, पूर्वाधार तथा सहज प्रशासनको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, निजी क्षेत्रले लगानी विस्तार, उत्पादन वृद्धि, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने राष्ट्रपति पौडेलले बताए।महासङ्घमा आबद्ध ठूलो संख्याका व्यवसायीको प्रगति समग्र अर्थतन्त्रसँग जोडिएको उल्लेख गर्दै उनले उद्योग तथा व्यापार क्षेत्रले रोजगारी र नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।राष्ट्रपति पौडेलले आगामी दिनमा उत्पादन वृद्धि, निर्यात विस्तार, स्वदेशी तथा विदेशी लगानी आकर्षण र रोजगारी सिर्जनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगमा रहेका सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उनले बताए।
विशेषगरी युवालाई स्वदेशमै रोजगारी तथा उद्यमका अवसर उपलब्ध गराउनु राज्य र निजी क्षेत्र दुवैको साझा जिम्मेवारी रहेको राष्ट्रपति पौडेलको भनाइ छ।डिजिटल प्रविधि र विश्व बजारमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै महासङ्घले नेपाली उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए।नेपालले पछिल्लो समय प्राकृतिक विपद्को सामना गर्नुपरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले विपद्का बेला उद्धार तथा सहयोगका लागि महासङ्घले देखाएको तत्परता र सहकार्यको प्रशंसा समेत गरे।