काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने सन्देशसहित आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ।
प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ। यस वर्षको दिवसले मानिसलाई आफ्नो आँखाको नियमित हेरचाह र दृष्टिको सुरक्षाप्रति सचेत हुन आग्रह गरेको छ। साथै, सबै नागरिकले सहज र गुणस्तरीय आँखा उपचार सेवा पाउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
विद्यालय, कार्यस्थल तथा नीति निर्माण तहमा नियमित आँखा परीक्षण र आँखासम्बन्धी जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्नेमा पनि यस वर्ष विशेष जोड दिइएको छ। नेपालमा सन् १९८१ मा अन्धोपनको अवस्था ०.८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणअनुसार यो घटेर ०.२८ प्रतिशतमा पुगेको छ। यद्यपि अन्धोपनको दर घट्दै गए पनि आँखासम्बन्धी अन्य समस्या भने अझै चुनौतीका रूपमा रहेको जनाइएको छ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहका कारण हुने दृष्टिसम्बन्धी समस्या, उमेरसँगै देखिने आँखाका रोग तथा दृष्टिदोषका समस्या बढिरहेका छन्। बढ्दो औसत आयु, नसर्ने रोगको वृद्धि, बदलिँदो जीवनशैली तथा मोबाइल, कम्प्युटरलगायत डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखाको स्वास्थ्यमा थप जोखिम सिर्जना गरिरहेको उनको भनाइ छ।
नेपाल नेत्रज्योति सङ्घका अनुसार हालसम्म ५ करोड २ लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सङ्घले हाल २८ वटा आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ उपचार केन्द्रमार्फत नेपाली नागरिकसँगै विभिन्न देशका नागरिकलाई समेत आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।