काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलब र वैदेशिक रोजगारीको अवसरको प्रलोभन देखाउँदै रकम लिने गरेका थिए। रकम लिएपछि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पीडितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धनुषाका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुरकी २५ वर्षीया एलिसा अधिकारी, दार्चुलाका २९ वर्षीय हरिस सिंह महरा र बाराका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।