काठमाडौँ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको चाप बढ्दै गएको देखिएको छ ।
फ्लाइ दुबईले सञ्चालन गरेको दुबई–पोखरा–दुबई उडानमार्फत दुई महिनाको अवधिमा १३ हजार ४७४ यात्रुले आवतजावत गरेका छन् ।विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म फ्लाइ दुबईले दुवैतर्फ गरी १२२ उडान सञ्चालन गरेको थियो । यस अवधिमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या ८ हजार ११५ रहेको छ भने पोखराबाट दुबई जाने यात्रु ५ हजार ३५९ जना रहेका छन् ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा पुग्न सकिने सुविधाले पोखरा–दुबई उडानलाई आकर्षक बनाएको बताए ।उनका अनुसार पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र एनओसी उपलब्ध गराउने व्यवस्था भए यो मार्गमा यात्रुको सङ्ख्या अझ बढ्न सक्छ । हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्न काठमाडौँस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ । उक्त प्रक्रिया सहज बनाउन दूतावाससँग छलफल भइरहेको उनले जानकारी दिए ।
२०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन । फ्लाइ दुबईले यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि विमानस्थलको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार भएको हो ।