काठमाडौं ।नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन ग्यास उद्योगहरूलाई आयात, भण्डारण र वितरणका सबै काम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन उद्योगहरूलाई आग्रह गरेको हो ।निगमले बजारको मागअनुसार ग्यास आयात बढाउन, भन्सारमा रोकिएका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन तथा उद्योगका भण्डारणस्थल पूर्ण क्षमतामा प्रयोग गर्न भनेको छ । पर्याप्त मौज्दात कायम राख्न र बजारमा रहेका सिलिन्डरलाई पूर्ण रूपमा भरेर बिक्री वितरण गर्न पनि निर्देशन दिइएको छ ।
ग्यास आपूर्तिसँग सम्बन्धित आयात, भण्डारण र वितरणका तीनवटै प्रक्रियालाई एकसाथ व्यवस्थित बनाउने निगमको योजना छ । यी चरणबीच प्रभावकारी समन्वय भए बजारमा ग्यास आपूर्ति सहज र नियमित हुने अपेक्षा निगमले गरेको छ ।निगमले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ । अनावश्यक रूपमा सिलिन्डर थुपार्ने र कृत्रिम अभाव सिर्जना हुने गतिविधि नगर्नसमेत उपभोक्तालाई सचेत गराइएको छ ।नियमित आपूर्ति कायम राख्दै बजारमा सम्भावित अभाव हुन नदिन सरकार र सम्बन्धित निकायले प्राथमिकताका साथ काम गरिरहेको निगमले जनाएको छ ।