काठमाडाैँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका उपायसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न राजर्षि जनक विश्वविद्यालयलाई आग्रह गरेका छन्।
बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई पढाइमा मात्र सीमित नरही आफ्नो क्षेत्रका शैक्षिक समस्या पहिचान र समाधानका लागि अध्ययन तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेका हुन्।मन्त्री पोखरेलले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए। उनले प्रदेशका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक पहल गर्नुपर्नेमा समेत जोड दिए। उनका अनुसार अहिले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको छ। यही सन्दर्भमा मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या, तिनका कारण र सुधारका सम्भावनाबारे अध्ययन गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्न उनले राजर्षि जनक विश्वविद्यालयलाई आग्रह गरेका हुन्।
‘मधेस प्रदेशका शिक्षा क्षेत्रमा रहेका समस्या खोज र अध्ययनमार्फत पहिचान गरी मन्त्रालयमा पेस गर्न म राजर्षि जनक विश्वविद्यालयलाई अनुरोध गर्छु,’ मन्त्री पोखरेलले भने, ‘मधेसमा पढाइ राम्रो हुन नसक्नुका कारण र सुधारका सम्भावनाबारे पनि काम गर्नुपर्ने अवस्था छ।’ विश्वविद्यालयहरूले अध्यापनसँगै अनुसन्धानलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। सम्बन्धित क्षेत्रका समस्या पहिचान गरी त्यसको समाधानका लागि आवश्यक सुझाव र अध्ययन प्रस्तुत गर्ने जिम्मेवारी पनि विश्वविद्यालयको भएको उनले बताए। मन्त्री पोखरेलले नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उपलब्ध स्रोत, साधन र क्षमताको प्रभावकारी प्रयोग गरेर काम अघि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरे। उनले राजर्षि जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको शैक्षिक स्तरसँग प्रतिस्पर्धा गर्न अझै थप मेहनत र प्रभावकारी काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।