काठमाडौं ।नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउन लामो समयदेखि संगठनमा सक्रिय भुईँ तहका कार्यकर्ताको योगदानलाई उचित सम्मान र मूल्याङ्कन गर्नुपर्ने बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसको वास्तविक रूपान्तरणका लागि तल्लो तहमा निरन्तर काम गरिरहेका कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनीहरूको योगदानको उचित कदर हुन नसकेसम्म पार्टीभित्र अपेक्षित परिवर्तन सम्भव नहुने उनको भनाइ छ।पन्तले भुईँ तहका कार्यकर्ताको मूल्याङ्कन, शिक्षा सुधार, युवा नेतृत्वको विकास, संगठन सुदृढीकरण, सुशासन, पार्टी रूपान्तरण र महिला सशक्तीकरणलाई आफ्नो मुख्य एजेण्डा बनाउँदै महामन्त्री पदमा उम्मेदवारी दिएको जानकारी दिइन्।
युवाहरू ठूलो संख्यामा रोजगारी तथा अवसरको खोजीमा विदेश पलायन भइरहेको भन्दै उनले शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिइन्। विद्यार्थी तथा युवालाई कांग्रेसको राजनीतिमा सक्रिय सहभागी गराउँदै नेतृत्व तहसम्म पुर्याउने आफ्नो प्राथमिकता रहेको उनले बताइन्।आफूले वडा तहदेखि क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म लामो समय काम गरेको उल्लेख गर्दै पन्तले संगठनको आधार बलियो बनाउन तल्लो तहका कार्यकर्तालाई उचित अवसर र जिम्मेवारी दिनुपर्ने धारणा राखिन्।
जेनजी आन्दोलनपछि मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनमार्फत कांग्रेसलाई परिवर्तनको दिशामा अघि बढाउने प्रयास भएको स्मरण गरिन्।पार्टी र राज्यका उच्च तहमा पुगेका नेता तथा कर्मचारीको सम्पत्तिमाथि छानबिन आवश्यक रहेको बताउँदै उनले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र र सुशासनलाई बलियो बनाउनुपर्ने धारणा राखिन्। अनुभवी, मध्यम पुस्ता र युवालाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।
कांग्रेसप्रति पछिल्लो समय असन्तुष्ट बनेका मतदातालाई पुनः पार्टीसँग जोड्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा पनि पन्तले जोड दिइन्। महामन्त्री पदमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न उनले पालिका, क्षेत्र र प्रदेश तहका सभापति, महाधिवेशन प्रतिनिधि तथा स्वदेश–विदेशमा रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।