काठमाडौं ।इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम प्रयोग गरी वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा यसअघि कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौँलागाईं र पत्रकार बालिका शिवाकोटी पक्राउ परिसकेका छन्।प्रहरीका अनुसार आरोपीहरूले इजरायलमा केयर गिभरको काम लगाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट करिब दुई करोड ५० लाख रुपैयाँ संकलन गरेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा दोलखाको कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया शिवाकोटीले आफूले उठाएको रकममध्ये करिब डेढ करोड रुपैयाँ भरत चौँलागाईंलाई दिएको बयान दिएको प्रहरीले जनाएको छ। चौँलागाईं रामेछापको सुनापति गाउँपालिका–१ का हुन्। उनलाई असोज १ गते रामेछापको मन्थलीबाट पक्राउ गरिएको थियो।सरकारले सन् २०२४ मा नेपालबाट इजरायलमा रोजगारीका लागि कामदार पठाउने प्रक्रिया अघि बढाउँदै परीक्षा सञ्चालन गरेको थियो। त्यस क्रममा लक्की ड्रमार्फत दुई हजार ९९ जना छनोट भएका थिए। छनोटमा नपरेका १५६ जनालाई समेत इजरायल पठाइदिने भन्दै चौँलागाईंको समूहले रकम लिएको प्रहरीको दाबी छ।सीआईबीले उक्त प्रकरणमा ठगीमा परेका अन्य व्यक्तिहरूलाई समेत सम्पर्कमा आई उजुरी दिन आग्रह गरेको छ।