काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्र चलिरहेको छ।
हिजोदेखि सुरु भएको बन्द सत्रमा पार्टीका शीर्ष नेताहरूले पेस गरेका विभिन्न प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने प्रक्रिया अघि बढाइएको छ।सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेका प्रतिवेदन अझै पारित हुन बाँकी छन्। ती प्रतिवेदनमाथि छलफलपछि आवश्यक प्रक्रिया पूरा गरी पारित गरिने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ।यसअघि महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित भइसकेको छ। विधान पारित भएपछि कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो।
राष्ट्रिय सभागृहमा केन्द्रीय निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ भने खुलामञ्चमा बन्द सत्र सञ्चालन भइरहेको छ। निर्वाचन प्रक्रियाप्रति प्रतिनिधिहरूको आकर्षण बढेकाले खुलामञ्च क्षेत्रमा भने तुलनात्मक रूपमा चहलपहल कम देखिएको छ।महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार प्रतिनिधिहरूलाई विभिन्न क्लस्टरमा विभाजन गरी तीनवटा हलमा प्रतिवेदनमाथि छलफल गराउने व्यवस्था गरिएको छ। प्रतिनिधिको उपस्थिति कम भएको अवस्थामा छलफललाई एउटै हलमा केन्द्रित गरेर प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ।
आजको सत्रमा सभापति थापासहित उपसभापति शर्मा, महामन्त्री घिमिरे र कोषाध्यक्ष श्रेष्ठका प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि पारित गर्ने प्रक्रिया अघि बढ्ने आचार्यले बताएका छन्।