काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगेका छन्।
फिजी र टुभालुमा आयोजना हुने कार्यक्रमका लागि मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा जलवायु परिवर्तनका कारण विश्वभर देखिएका चुनौती, त्यसको समाधानका उपाय तथा अन्तर्राष्ट्रियसहकार्यका विषयमा छलफल हुने बताइएको छ।मन्त्री खनालले असोज २० गते हुने लिडर्स प्लेनरीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसअघि पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीको सहभागितामा हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत उनी सहभागी हुनेछन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादलाई अघि बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपालको सहभागितामार्फत जलवायु न्याय, हिमाली मुलुकका सरोकार र नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावलाई अन्तर्राष्ट्रिय तहमा उठाउने अवसर मिल्ने अपेक्षा गरिएको छ।फिजी र टुभालुको कार्यक्रम सकेपछि मन्त्री खनाल अस्ट्रेलिया जाने कार्यक्रम छ। असोज २२ गते उनले अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग भेटवार्ता गर्नेछन्। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा दुवै देशको आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
अस्ट्रेलिया बसाइका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास तथा सिड्नीमा नेपाली डायस्पोराले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा सहभागिता जनाउनेछन्। ती कार्यक्रममा उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असोज २६ गते नेपाल फर्कने कार्यक्रम छ।