काठमाडौं ।अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’ आगामी कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
चलचित्र निर्माण पक्षले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।सार्वजनिक टिजरमा चलचित्रको कथा र परिवेशबारे धेरै कुरा खुलाइएको छैन। दर्शकमा कौतुहलता कायम राख्ने शैलीमा तयार गरिएको टिजरमा चलचित्रका केही दृश्य र पात्रहरूको झलक मात्र देखाइएको छ।‘बाटुलो जून’ ३० को दशकको सामाजिक परिवेशमा आधारित प्रेमकथामा निर्माण भएको चलचित्र हो। तत्कालीन समयको जीवनशैली, समाज र प्रेम सम्बन्धलाई कथाको मुख्य आधार बनाइएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा अहिलेको प्रविधिमैत्री समयको प्रेमभन्दा फरक पुरानो पुस्ताको प्रेम र त्यसबेलाको सामाजिक अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।अभिनेता भुवन केसीको निर्देशन रहेको चलचित्रमा अनमोल केसी, भुवन केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ। बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्त पनि यसै चलचित्रमार्फत अभिनयमा पुनरागमन गर्दैछिन्।चलचित्रको कथा तथा पटकथा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्। राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन्।बाटुलो जून’ जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह–निर्माताका रूपमा रहेका छन्।