काठमाडौं । नेकपा एमालेले आज संसदीय दलको बैठक आयोजना गर्दैछ ।
पार्टी कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई समसामयिक राजनीतिक विषय तथा आगामी भूमिकाबारे विशेष निर्देशन दिने तयारी छ ।संसद्को अधिवेशन सुरु हुनुअघि र अधिवेशन सकिएपछि एमालेले नियमित रूपमा संसदीय दलको बैठक गर्दै आएको छ । यस्ता बैठकमा अधिवेशनका क्रममा दलका सांसदले निर्वाह गरेको भूमिका र संसद्मा भएका गतिविधिको समीक्षा गर्ने गरिएको छ ।
एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार बैठकमा पछिल्लो संसद् अधिवेशनमा पार्टीले खेलेको भूमिकामाथि समीक्षा हुनेछ । साथै, आगामी दिनमा सांसद तथा पार्टी नेतृत्वले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे पनि अध्यक्ष ओलीले आवश्यक निर्देशन दिनेछिन् ।