काठमाडौं । कमेडी च्याम्पियनका विजेता हिमेश पन्त र सुनिल खड्का नयाँ कमेडी टक शोमार्फत दर्शकमाझ आउने भएका छन्। उनीहरूको प्रस्तुति तथा सञ्चालनमा साप्ताहिक कमेडी टक शो ‘हल्ला खल्ला विथ हिमेश’ सुरु हुने भएको हो।
काठमाडौंस्थित मल्लसदनको मण्डला हाइट रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा क्यापेला डिजिटलले शोको प्रोमो सार्वजनिक गरेको छ। लामो समयपछि कमेडीमा पुनरागमन गर्न लागेका हिमेश र सुनिलले यसै कार्यक्रममार्फत दर्शकमाझ नयाँ शैलीको मनोरञ्जन प्रस्तुत गर्ने तयारी गरेका छन्। हिमेश पन्त कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन् भने सुनिल खड्का तेस्रो सिजनका विजेता हुन्। दुवै कलाकार केही समययता नियमित कमेडी प्रस्तुतिबाट टाढा रहे पनि नयाँ टक शोमार्फत पुनः सक्रिय हुन लागेका हुन्।
कार्यक्रममा कमेडी च्याम्पियन सिजन–३ का प्रतिस्पर्धी प्रेम विश्वकर्मा र अमरेन्द्र यादवसहितका कलाकारहरूको प्रस्तुति पनि रहनेछ। प्रेम विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाह, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका व्यक्तिको क्यारेक्टर प्रस्तुत गरेर चर्चा कमाएका थिए। उनी पछिल्लो समय विभिन्न कमेडी कार्यक्रममार्फत आफ्नो प्रस्तुति दिँदै आएका छन्। त्यस्तै, अमरेन्द्र यादव विभिन्न सार्वजनिक व्यक्तित्वलाई व्यंग्य तथा रोस्टमार्फत प्रस्तुत गर्ने कलाकारका रूपमा परिचित छन्। पछिल्लो समय सूर्य थापामाथिको रोस्ट प्रस्तुतिपछि उनी थप चर्चामा आएका थिए।
‘हल्ला खल्ला विथ हिमेश’ मा अन्तर्वार्ता र कमेडीलाई एउटै ढाँचामा प्रस्तुत गरिनेछ। एक घण्टा लामो हुने कार्यक्रम सातामा एकपटक प्रसारण गरिने क्यापेला डिजिटलका सञ्चालक प्रताप शमशेरले जानकारी दिए। कार्यक्रममा कुराकानीसँगै स्क्रिप्टेड कमेडीका विभिन्न खण्डसमेत समावेश हुनेछन्। चलचित्र, संगीत, खेलकुद, व्यवसाय तथा राजनीतिलगायत विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वलाई अतिथिका रूपमा सहभागी गराउने तयारी गरिएको छ।क्यापेला डिजिटलका विभिन्न अनलाइन माध्यमबाट प्रसारण हुने कार्यक्रमको पहिलो सिजनमा २६ वटा एपिसोड प्रसारण गरिने आयोजकले जनाएको छ। नयाँ कमेडी शैली, चर्चित अतिथि र व्यंग्यात्मक प्रस्तुतिमार्फत कार्यक्रमले दर्शकमाझ छुट्टै मनोरञ्जन दिने अपेक्षा गरिएको छ।