काठमाडौं ।विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन्।
स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठको शव कोठाभित्रबाट बरामद भएको प्रहरीले जनाएको छ।कोठाबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले इलाका प्रहरी कार्यालय विराटनगर रानीमा खबर गरेका थिए। सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ।आफन्तका अनुसार श्रेष्ठको मृत्यु चारदेखि पाँच दिनअघि नै भएको हुनसक्ने अनुमान गरिएको छ। शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरेको छ। यद्यपि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने प्रहरीले स्पष्ट पारेको छ।घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मुकेन्द्र सिंह मिश्रले जानकारी दिएका छन्।